
नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आममाफीको घोषणा गरेको विषयलाई लिएर अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपालले आममाफी दिने पार्टी अध्यक्ष केपी शर्मा ओलीको घोषणालाई श्री ५ को हुकुमको संज्ञा दिएका छन् ।
शुक्रबार पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालले ओलीलाई ‘महाराजधिराज’को संज्ञा दिए । उनले भने, ‘हिजो महामहिम श्री ५ महाराजधिराबाट अभिव्यक्ति आयो-माधव नेपालसहित मान्य सदस्यहरुलाई जति पनि स्पष्टीकरण सोधिएको छ, त्यसलाई आम माफी दिइन्छ । एम्नेष्टि इज ग्रान्टेड ।’ हामी गदगद् भयौं !’
‘महाराजधिराज खुशी हुनु भएको छ । हामीलाई आममाफी मिलेछ । नाच्नु पर्ने भयो, खुशी हुनुपर्ने भयो । यही हो पद्धति ? यसलाई कम्युनिष्ट पद्धति भनिन्छ ?’ उनले भने ।
आफूहरुलाई स्पष्टीकरण सोध्नु गल्ती भएको अध्यक्ष ओलीले स्वीकार गर्नुपर्ने नेता नेपालले बताएका छन् । उनले अघि भनेका छन्, ‘स्पष्टीकरण सोध्नु गल्ती भयो, मैले हतार गरें । अब फिर्ता लिएको छु भनिदिएको भए हाइट घट्थ्यो ?’
ओलीतर्फ संकेत गर्दै बादशाहलाई घोडाबाट झारे पनि अहंकार कम नभएको उनले बताए । नेताहरुले एकतामा असर पर्ने केही नबोल्न आग्रह गरेको र आफूले पनि ओली सुधिएलान् कि भनेर आफू जोगिएर बोल्ने गरेको नेता नेपालले सुनाए ।
कटाक्षपूर्ण भनाइमा नेपालले थपे, ‘कति हामी गदगद भयौं । महाराजधिराजबाट उवाच । हामी गदगद भयौं-वाह, वाह । महाराजधिराज कति खुसी भए छन्, हामीलाई आम माफी दिँदै छन् । नाँच्नुपर्ने भयो । यही हो प्रगति ? यहीलाई कम्युनिष्ट प्रवृत्ति भनिन्छ ?’
नेता नेपालले स्पष्टीकरण सोध्नु गल्ती थियो भनेर भन्नुपर्नेमा ओलीले त्यसो नगरेको टिप्पणी गरे। ‘स्पष्टीकरण सोध्नु गल्ती भयो, हतार गरेँ, मैले फिर्ता लिएको छु भनेको भए के हाइट घट्थ्यो ?,’ उनले भने, ‘मर्यादा घट्यो ? डोरी जल्यो तर बाँधिएको गाँठो उस्ताको उस्तै छ । यस्तो पनि हुन्छ ?’
सत्ताबाट बाहिरिएपछि पनि ओलीको शैलीमा सुधार नआएको नेपालको ठम्याइ छ । उनले भने, ‘मान्छे सुध्रिएलान भन्यो । आज सुध्रिन्छन कि भन्या छ भोलि सुध्रिन्छन कि भन्या छ । केही नबोलेर हिजो मीठो-मीठो शब्द पनि मैले बोलेँ पुष्पलाको कार्यक्रममा । ख्याल गरेर बोलेको छु । जिब्रोले बोल्दी पो हाल्लाकी भन्ने कत्रो चिन्ता ? बादशाहलाई घोडाबाट तल झारेपछि पनि नहुने रहेछ ।