
राष्ट्रियसभा सदस्य रामनारायण विडारीले संसद्मा पटक–पटक परमादेशबाट बनेको सरकार भन्ने शब्द प्रयोग गरेको विषयमा टिप्पणी गरेका छन् ।
बुधबार राष्ट्रियसभा बैठकको विषेश समयमा बोल्दै उनले परमादेशका कारण संसद् ब्युँतिएर तलब भत्ता खान पाएका सांसद्हरुले विरोध गर्नु उचित नहुने बताएका हुन् ।
उनले भने,“परमादेशबाटै अधिकार र सुविधा ग्वाम–ग्वाम लिएर, ख्वाम–ख्वाम खाएर परमादेशलाई श्राप दिने ? अनि परमादेशका विषयमा यत्रा कुरा ?”
नेकपा एमालेका सांसद्हरुले अहिलेको सरकार परमादेशबाट बनेको टिप्पणी गर्दै आइरहेका छन् । तर, विडारीले त्यसको प्रतिवाद गर्दै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गरेको कागज हेर्न आग्रह गरे ।
“प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिले गरेको हो। राष्ट्रपतिको बेइज्जत गराउने सांसद् हो कि होइन ?” उनले प्रश्न गरे,“सांसद्हरु मिलेर राष्ट्रपतिले गरेको कागजको विरुद्धमा परमादेशबाट भयो भनेको छ । हेर्ने त प्रमाण ? हेर्ने त नियुक्ति ?”
उनले प्रधानमन्त्रीको नियुक्ति राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार गरेको हेक्का राख्न सांसद्हरुलाई आग्रह गरे ।