
सांसद पदमा पुनर्बहाली माग गर्दै पूर्व माओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ आज हुँदैछ । सर्वोच्च अदालतमा दायर भएको रिटमाथिको सुनुवाइ न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ।
आफूहरु एमालेमा प्रवेश नगरेकाेले माओवादी केन्द्रमै रहेकाे पूर्व माओवादी नेताहरुकाे जिकिर छ। पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
आफूहरुले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरु माओवादी केन्द्र सदस्य रहेको भन्दै चारै नेताले बुधबार सर्वोच्च रिट दायर गरेका थिए । उनीहरुले रिटमा सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने जिकिर गरेका छन् ।
पूर्वमाओवादी नेताहरुले आफूहरु आधिकारिक रुपमा एमाले प्रवेश नगरेको र माओवादी केन्द्रले सफाइको मौका समेत नदिइ सांसद पदबाट कारबाही गरेको जिकिर गर्दै आफूहरुमाथि गरिएको कारबाही खारेज हुनुपर्ने मागदाबी गरेका छन्। पूर्वमाओवादी नेताहरुलाई माओवादी केन्द्र त्यागेकाे भन्दै पार्टीले सांसद पदबाट बर्खास्त गरेकाे तीन महिनापछि मात्र उनीहरु पुनर्बहालीकाे माग राखेर सर्वाेच्च गएका हुन्।