
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पाँच दलीय गठबन्धनका साझा नीति तथा कार्यक्रममा सहमति भएकाले चाँडै सरकारको विस्तार हुने बताउनु भएको छ ।
उपसभापति निधिले जनकपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्नुहुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सबै दल सरकारमा सहभागी हुने करिब करिब टुङ्गो लागिसकेको बताउनुभयो ।
उहाँले सरकार निर्माणमा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको महत्त्वपूर्ण भूमिका रहेकाले उहाँको समूहलाई पनि सरकारमा सहभागी गराउने प्रयास भइरहेको बताउनुभयो ।
नेपाली काँग्रेसका उपसभापति निधिले काँग्रेसभित्र क्रियाशील सदस्यताको विवाद समाधान भएपछि महाधिवेशन गर्दा नै उपयुक्त हुने बताउनुहुँदै तदर्थ समिति बनाउन आवश्यक नभएको बताउनुभयो ।
उहाँले १४ औँ महाधिवेशन जहिले भए पनि आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणामा यथावत् नै रहेको बताउनुहुँदै सभापति पदमा आफ्नो उम्मेदवारी जायज रहेको बताउनुभयो ।
उपसभापति निधि पार्टी तथा परिवारको काम विशेषले आफ्नो गृह जिल्ला धनुषा आउनुभएको हो ।