
गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका छन् । उनले गत सोमबार जेलमै पुगेर आत्मसमर्पण गरेको रहस्य खुलेको छ । अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपनि फरार रहेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाले डिल्लीबजार कारागारमा आत्मसमर्पण गरेका हुन।
उच्च अदालत, पाटनले गत माघमा उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिए पनि फरार रहेका थापाले सोमबार कारागारमा आत्मसमर्पण गरेका हुन्। कारागार स्रोतले दिएको जानकारी अनुसार अहिले नरेश अहिले कारागारमै रहेका छन् ।
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या गर्ने मुख्य अभियुक्त समिरमानसिंह बस्न्त्यातसँग मिलेर व्यवसायीबाट रकम असुलेको अभियोग थियो । हत्याका मुख्य अभियुक्त समिरमानसिंह बस्न्त्यातसँग नरेशको फोन सम्पर्क र भेटघाट भएको पाइएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्दा नरेशको सम्पर्क बस्न्त्यातसँग रहेको रहस्य खुलेको थियो। ब्यूरोले नरेशलाई समेत प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेपनि उनी छुटेका थिए।
थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै उच्च अदालत पाटनले थापालाई पक्राउ गरी थुनामा राख्न आदेश दिएको थियो । प्रहरीले नरेशविरुद्ध अदालतमा मुद्दा दर्ता गरेपनि जिल्ला अदालत, काठमाडौंले १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर उच्च अदालत, पाटनले जिल्ला अदालतको आदेश उल्ट्याइदिएको थियो।