
दक्षिण एशियाली फुटबल(साफ) च्याम्पियनशीपको १३ औं संस्करण माल्दिभ्सले आयोजना गर्ने तय भएको छ । आगामी अक्टोबर १ देखि १३ सम्म साफ च्याम्पियनशीप माल्दिभ्समा हुने तय भएको हो ।
दक्षिण एशियाली फुटबल संघ(साफ)को कार्यकारी समितिले सोमबार साफ फुटबलको आयोजना माल्दिभ्सलाई दिने निर्णय गरेको हो । नेपाल र माल्दिभ्स दुबै राष्ट्रले आयोजनाको प्रस्ताब पठाएको थियो । माल्दिभ्सको प्रस्ताब स्वीकृत भएको साफले जनाएको छ ।
साफले एक वक्तब्य जारी गरी माल्दिभ्समा कोभिड १९ सङ्क्रमणको जोखिम अपेक्षाकृत कम रहेकोले उसको प्रस्ताब स्वीकृत गरिएको उल्लेख गरेको छ । यसअघि माल्दिभ्स र श्रीलङ्काले संयुक्त रुपमा सन् २००८ को साफ आयोजना गरेको थियो । माल्दिभ्सले घरेलु मैदानमा उपाधि हात पार्न सफल भएको थियो ।
साफको १३ औं संस्करणमा माल्दिभ्स, बङ्गलादेश, नेपाल, श्रीलङ्का र भारतले सहभागी हुने सुनिश्चित गरिसकेको छ । भुटानले अबको तीन महिनाभित्र आफ्नो सहभागिताबारे निर्णय लिनेछ ।
नेपालले यसअघि सन् १९९७ र सन् २०१३ मा गरी दुई पटक साफ च्याम्पियनशीप आयोजना गरेको छ । साफ च्याम्पियनशीपमा भारत सबैभन्दा बढी सफल राष्ट्र हो । उसले सात पटक उपाधि उचालेको छ । नेपाल साफ च्याम्पियनशीपको फाइनलसम्म पुग्न अझै पर्खेको छ ।
आज बसेको दक्षिण एसियाली फुटबल महासंघ साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता माल्दिभ्समा गर्ने निर्णय गरेको अखिल फुटबल संघ एन्फाले जनाएको छ ।
साफ आयोजनाका लागि नेपालले पनि दाबी गरेको थियो । तर कोरोना महामारीको अवस्थाका कारण नेपालको दाबी कमजोर बनेको हो ।
माल्दिभ्समा ६० प्रतिशतभन्दा बढीले खोप लगाइसकेकाले त्यही प्रतियोगिता गर्न सुरक्षित हुने भन्दै बैठकले निर्णय गरेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।
यसअघि साफ च्याम्पियनसीप फुटबल बंगलादेशमा हुने तय भएको थियो । तर कोरोना महामारी बढेको वंगबन्धु रंगशाला तयार नभएकाले बंगलादेशले हात झिकेको थियो ।
प्रतियोगिता आगामी असोज १५ देखि २७ सम्म हुनेछ ।