
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश केपी शर्मा ओली प्रवृत्तिकै पुनरावृत्ति भएको बताएका छन् ।
संसद अधिवेशन अन्त्य गरेर पार्टी फुटाउन सहज हुने गरी दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको डा.भट्टराईको भनाइ छ ।
‘संसद अधिवेशन अन्त्य गरेर अध्यादेश ल्याउनु भनेको ओली प्रवृत्तिकै निरन्तरता हो । जसले गरे पनि यो गलत हो । लोकतन्त्रविरोधी हर्कत हो,’ डा.भट्टराईले भने, ‘यो कदम कुनै पनि हालतमा सह्य हुँदैन ।’
सांसद पद जोगाउने गरी अध्यादेश ल्याउनु भनेको त झनै प्रतिनिधिमूलक लोकतन्त्रको हत्या नै गर्नुसरह भएको डा. भट्टराईको भनाइ थियो । ‘पार्टी छोड्न, फुटाउन, नयाँ बनाउन पाइन्छ तर सांसद पदमा पनि भइराख्ने, लोभ राखिराख्ने प्रवृत्ति लोकतन्त्रका लागि घातक हो,’ भट्टराईले भने, ‘यो धेरै गम्भीर विषय हो ।’