
सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित शीर्ष समितिले थप समय माग गरेको छ ।
पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग थप समय माग गरेका हुन् ।
समितिले विवाद समाधानको लागि अझै केही दिन लाग्ने भएकाले थप समय माग गरेको जनाएको छ । कांग्रेस केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यताको बाँकी काम भदौ २ भित्र सहमति गरेर भदौ ३ मा केन्द्रीय सभापतिलाई बुझाउन म्याण्डेट दिएको थियो ।
म्याण्डेट सकिएको २ दिनपछि समितिले थप समय मागेको हो । कांग्रेसको महाधिवेशन आगामी मंसिर ९ देखि १३ गते सम्मका लागि तोकिएको छ । वडा तहको अधिवेशन भदौ १८ गतेका लागि ताकिएको छ । क्रियाशील सदस्यता विवाद तत्काल समाधान नभए महाधिवेशन कार्यतालिका पुनः प्रभावित हुन सक्ने देखिएको छ ।