
आकस्मिक रुपमा नेपाल आएका भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी)का विदेश विभाग प्रमुख विजय मुरलीधर चौथाइवालेले राजनीतिक भेट तिव्र पार्नुभएको छ ।
उहाँले आज बिहान नेकपा एमालेका अध्यक्ष तथा विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । भेटमा नेपाल भारत सम्बन्धलाई अझै बलियो बनाउने बारेमा सकारात्मक छलफल भएको जानकारी चौथाइवाले दिनुभएको छ ।
चारदिने अनौपचारिक भ्रमणका क्रममा नेपाल आएकै दिन उहाँले हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटवार्तामा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश देउवालाई सुनाउनु भएको थियो ।
देउवा प्रधानमन्त्री भएपछि भारतबाट आएका चौथाइवालेले सबैभन्दा उच्चस्तरीय नेता हुनुहुन्छ ।
देउवा प्रधानमन्त्री भएपछि भारतीय समकक्षी मोदीसँग टेलिफोनमा कुराकानी भएलगत्तै चौथाइवालेले पनि देउवालाई टेलिफोन गर्नु भएको थियो ।
चौथाइवालेले नेपालमा रहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बुझिएको छ ।