
फाइल फोटो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई एमालेमै फर्किए कारबाही फिर्ता हुने बताएका छन् । पार्टी विभाजनका बेला माधवलाई साथ नदिएका नेताहरूसँगको छलफलमा ओलीले पार्टी एकताका लागि आफूले हदैसम्मको लचकता अपनाएको र अब पनि अपनाउने बताए ।
नेता योगेश भट्टराईका अनुसार एमालेमै फर्किए माधव नेपालले गरेका गल्तीलाई माफ गर्न सकिने अध्यक्ष ओलीले बताएका हुन् ।
छलफलपछि भट्टराईले भने, ‘पार्टी दर्ता प्रक्रियाबाट अलग भए माधवहरूमाथि गरिएको कारबाही फिर्ता हुने कुरा अध्यक्षले बताउनुभएको छ ।’
बालकोटमा आज भएको छलफलमा अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्दै अगाडि बढ्न तयार रहेको बताएका छन् । ‘अध्यक्षले अत्यन्तै सकारात्मक धारणा राख्नुभएको छ, पार्टीलाई एकताबद्ध गर्न जिम्मेवार छु भन्ने प्रतिबद्धता जनाउनु भएको छ’ भट्टराईले भने ।