
मानसरोवर कैलाशको दर्शन गर्ने स्वदेशी तथा विदेशी पर्यटक हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमी लाप्चामा भित्रिने क्रम बढेको छ ।
लिमीको लाप्चाबाटै मानसरोवरको दर्शन गर्न दुई दिनको अवधिमा १ सय ७ जना विभिन्न देशका विदेशी तथा स्वदेशी पयर्टक जिल्ला पुगेको सिमकोट विमानस्थलले जनाएको हाे ।
दुई वर्षदेखि चीनले आफ्नो सीमासँग जोडिएको हिल्सा नाका बन्द गरेको भए पनि नेपाली भूमि हुम्लाको लिमी लाप्चाबाटै मानसरोवर कैलाश दर्शनका लागि विभिन्न देशका पर्यटक जिल्ला आउन थालेका छन् ।
हुम्ला पुगेको टोलीका लागि कोरोना संक्रमण सतर्कताका कारण होटलको साटो सिमकोटस्थित तल्लो बजारमा रहेको खेलमैदान र सिमसार क्षेत्रमा पालको व्यवस्था गरिएको छ । पालमा सदगुरुसहितका सबै टोली एक रात बस्नेछन् । यता स्थानीय २५ भरिया पनि तयार गरिएको छ ।
पर्यटन व्यवसायी विजय लामाका अनुसार गुरु एक रात सिमकोटमा बस्ने छन् र बिहीबार बिहान मात्र पैदलमार्गबाट लाप्चातर्फ लाग्ने कार्यक्रम छ । सदगुरुसँग १२ जना भारतीय लगायत १० देशका तीर्थालु सहभागी रहनेछन् । टोलीको यात्राका लागि मोटरसाइकलदेखि घोडाको समेत व्यवस्था गरिएको छ । सदगुरुले प्रयोग गर्ने मोटरसाइल समेत मंगलबार सिमकोट आइपुगेको छ । उक्त मोटरसाइकल हवाईजहाजमार्फत सिमकोट पुर्याइएको हो।