
विवेकशील साझा पार्टीको रवीन्द्र मिश्र समूहको केन्द्रीय समिति बैठकले पार्टी संयोजक मिलन पाण्डे र उनको पक्षमा लागेकाहरूलाई पार्टी हित विपरितको गतिविधि नगर्न सचेत गराएको छ । बिहीवार अध्यक्ष मिश्रको अध्यक्षतामा बसेको बैठकले पाण्डेलाई समानान्तर गतिविधि नगर्न सचेत गराउने निर्णय गरेको हो ।
बैठकले पार्टी हित विपरितको गतिविधि जारी राखे कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
बैठकमा विवेकशील साझाका १३० मध्ये १०३ जना सदस्य सहभागी भएको दाबी गरिएको छ । अर्को बैठक एक सातापछि बस्ने तय गरिएको छ भने सो बैठकमा अध्यक्ष मिश्रले यसअघि व्यक्तिगत रुपमा सार्वजनिक गरेको संघीयताको खारेजी र धर्मनिरपेक्षतामा जनमतसंग्रहको प्रस्ताव पेश गर्ने बताइएको छ। यो बीचमा मिलन पाण्डे समूहलाई पनि सहमतिमा ल्याउन प्रयास हुने बताइएको छ ।
यसैबीच मिलन पाण्डे समूहको पनि आज समानान्तर बैठक बसेको छ । जुम अनलाइन माध्यमबाट बसेको बैठकमा पाण्डेले अध्यक्षले एकल र अवैधानिक ढङ्गले समानान्तर बैठक आह्वान गरेकाले वाध्य भएर पार्टी विधान बमोजिम केन्द्रीय संयोजकलाई दिइएको अधिकार प्रयोग गरी बैठक बोलाएको बताउनुभएको थियो ।
बैठकमा पार्टी भित्र फुट र विभाजन चाहने तत्वहरूलाई निरुत्साहित गरी पार्टी एकीकरणको घोषणापत्र, गत निर्वाचनको प्रतिवद्धता पत्र एवं विधान अनुसार संघर्षबाट प्राप्त उपलब्धीहरूलाई रक्षा गर्दै लोकतन्त्र, सामाजिक न्याय र नागरिक सम्प्रभुता र संविधानवादको पक्षमा दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्तिमा अपिल गरिएको छ ।