
सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वडा, गाउँ–नगर, संघ, प्रदेश लगायत केन्द्रीय महाधिवेशन धाँधलीरहित, निष्पक्ष र पारदर्शीरुपमा सम्पन्न गर्नुपर्ने जिम्मेवारी सबै नेता तथा कार्यकर्ताहरुको भएको बताउनुभएको छ ।
चौधौं केन्द्रीय महाधिवेशन सन्दर्भमा नेतृत्व विकास र भूमिका विषयक आज राजधानीमा आयोजित छलफल कार्यक्रममा देशमा २००७ सालको प्रजातन्त्र पुनरस्थापनादेखि संविधान जारी गर्न समेत काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको उहाँले चर्चा गर्नुभयो । नेता सिंहले संविधान संस्थागत गर्नका लागि पनि काँग्रेसको महाधिवेशनबाट नयाँ र सक्षम नेतृत्व आउनुपर्ने आवश्यक रहेको बताउनुभयो ।
नेता सिंहले काँग्रेसको वडा अधिवेशनदेखि जिल्ला लगायत सबै तहको अधिवेशन र चौधौं महाधिवेशनमा विधि र प्रक्रियालाई पालना गर्नुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा काँग्रेसलाई देशकै पहिलो पार्टी बनाउँदै संविधान संस्थागत गर्नमा पनि चौधौं महाधिवेशन महत्वपूर्ण हुने उहाँले चर्चा गर्नुभयो ।
काँग्रेस सुस्त हुँदैगएका कारण देशमा कम्युनिष्ट पार्टीहरु अगाडि आएको नेता सिंहले बताउनुभयो । काँग्रेसको महाधिवेशन र चुनावमा मात्रै घुँइचो लाग्ने र अरुबेला गतिविधि शून्य हुने परम्परालाई परिवर्तन गर्नुपर्ने बताउनुहुदै नेता सिंहले आगामी चौधौं महाधिवेशनमा नेतृत्व परिवर्तन आवश्यक रहेको बताउनुभयो ।