
कोरोना भाइरस (काेभिड १९) को जोखिम कम गर्न तथा रोकथामका लागि आइतबारदेखि अत्यावश्यक बाहेकका कार्यालय केही दिनका लागि बन्द गरिने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ७ चैतमा सम्बोधनमार्फत संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवाहरू देशैभर २१ चैतसम्मका लागि बन्द गर्ने घोषणा गरेका थिए।
कोरोनाको जोखिम कम गर्न आइतबारदेखि चैत २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने सरकारले निर्णय गरेको हो । २५ जनाभन्दा धेरै व्यक्तिलाई एकै ठाउँमा जम्मा नहुन पनि सरकारले आग्रह गरेको छ ।
अरु सेवा बन्द भए पनि अस्पताल, औषधि पसल तथा स्वास्थ्य सेवा, दैनिक उपभोग्य सामग्रीको बिक्री वितरण, पेट्रोलियम तथा खानेपानीको ढुवानी तथा बिक्री वितरण बन्द हुँदैन । शिक्षण संस्थाहरू यसअघि नै बन्द भइसकेका छन् भने परीक्षा पनि स्थगित गरिसकिएको छ।
साथै टेलिफोन तथा इन्टरनेट, सञ्चारमाध्यम, बैंक, बीमा, विद्युत् सेवा, र फोहोर ढुवानी तथा विर्सजन, हुलाक सेवा, आन्तरिक तथा सुरक्षा कार्यसँग सम्बन्धित सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा भने बन्द नहुने सरकारले जनाएको छ ।
अन्तर्राष्ट्रिय हवाई उडान शनिबारदेखि चैत १८ गतेसम्मका लागि बन्द गरिएकाे छ भने आइतबारदेखि लामो दुरीका गाडी पनि नचल्ने सरकारले जनाएको छ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक सरदर ५० वटासम्म अन्तर्राष्ट्रिय उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
यसैबीच हिजो, ८ चैत साँझ प्राधिकरणका प्रबन्ध निर्देशक राजन पोखरेलले विज्ञप्ति जारी गर्दै रेस्क्यू, एयर एम्बुलेन्सलगायतका इमर्जेन्सी फ्लाइट भने बन्द नगर्ने जानकारी गराएका छन्।
‘देशैभर सङ्घ, प्रदेश र पालिकाका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।