
जाजरकोटमा बस दुर्घटनाका घाइते १४ जनालाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ ।
गम्भीर घाइते नलगाड ४ की आस्था वली, कुशे ९ का वीरबहादुर नेपाली, उनकी श्रीमती देवीसरा, छोरा प्रचण्ड, आठबीसकोट नगरपालिका ४, गोताम कोटका सरोज शाही र सोही ठाउँकी धर्मी मल्ललाई हेलिकप्टरबाट शिक्षण अस्पताल नेपालगन्ज रिफर गरिएको हो ।
अन्य ८ जनालाई गाडीबाट नेपालगन्ज पठाइएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद देवकोटाले बताउनुभयो ।

सामान्य घाइते कुशे ९ की गीता नेपाली र नलगाड ४ की हजारी वलीको जाजरकोट अस्पतालमा उपचार चलिरहेको छ । १३ जना सामान्य घाइतेहरू उपचारपछि निको भएर घर फर्किएका जाजरकोट अस्पतालका डाक्टर पुष्प श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालगन्ज लगिएका ६ जनाको अवस्था गम्भीर रहेको छ । बस दुर्घटनामा कुशे गाउँपालिका, नलगाड नगरपालिका, पश्चिम रुकुम आठबीसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सप्तरीका स्थानीय रहेका जाजरकोट प्रहरीले जनाएको छ ।
नेपालगन्जदेखि रुकुम पश्चिमको राडी बजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस भेरी नगरपालिका १३, कुदु स्थित बराह चौर नजिक दुर्घटना भएको थियो । बसमा ३४ जना यात्रु सवार रहेका थिए । तीव्र गतिका कारण बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
