९ बैशाख २०८२, मंगलवार

मन्त्री रेग्मीले बुहारीलाई समाज कल्याण परिषद्को उपाध्यक्षमा नियुक्त गरिन्, छोरा सल्लाहाकार

Uma Regmi and Monika Bhattrai

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले बुहारीलाई समाज कल्याण परिषद्को उपाध्यक्षमा नियुक्ति दिएकी छन् । मन्त्रिपरिषद्ले रेग्मीको सिफारिसमा उनकी बुहारी मोनिका भट्टराई अधिकारीलाई परिषद्को उपाध्यक्षमा नियुक्त गरेको हो ।

भट्टराई रेग्मीका छोरा विजय अधिकारीकी पत्नी हुन् । विजयले पनि अहिले मन्त्रीको ‘सल्लाहकार’का रुपमा मन्त्रालयमा काम गरिरहेका छन् । विजय र मोनिका दुवै केही समयअघि मात्रै अमेरिकाबाट नेपाल फर्किएका थिए । विजयको चितवनस्थित भरतपुर क्यान्सर अस्पताल अगाडि फार्मेसी सञ्चालनमा छ ।

मन्त्रीले बुहारीलाई नियुक्ति दिएको विषयमा लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ–नेपालले पनि विरोध जनाएको छ । यो संस्था सत्तारुढ नेपाली कांग्रेस निकट गैरसरकारी संस्थाहरुको संगठन हो । महासंघका महासचिव मनोजकुमार कँडेलले ज्ञापन पत्र बुझाउँदै मन्त्रीलाई निर्णय सच्याउन ध्यानाकर्षणसमेत गराएका छन् ।

ज्ञापन पत्रमा महिला तथा बालबालिका मन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्‍बाट सिफारिस भएको गलत निर्णय नसच्याए राष्ट्रव्यापी विरोध कार्यक्रम अघि बढाउने पनि भनिएको छ ।

छोरालाई नियुक्ति दिलाउन चलखेल

बुहारी मात्र होइन, मन्त्री रेग्मीले छोरा विजयलाई पनि आफू अध्यक्ष रहेको बालअधिकार परिषद्‍मा ल्याउने प्रयास गरिरहेकी छन् । छोरा विजयलाई नियुक्त गर्न सहज हुने गरी उनले बालबालिकासम्बन्धी नियमावली ल्याउने तयारी थालेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।