
कोरोना संक्रमित शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री देवेन्द्र पौडेल शुक्रवार मेडिकल कलेजको शुल्क विवादको विषयमा बैठकमा सहभागी हुनुभएको पुष्टि भएको छ ।
बैठक लगत्तै मन्त्रीपरिषद्को बैठकमा सहभागी हुन प्रधानमन्त्री कार्यालय पुग्नुभएका उहाँको एन्टिजेन परीक्षण गर्दा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएपछि मन्त्री पौडेललाई क्याबिनेटको बैठकबाट फर्काइएको थियो ।
६ दिन अघि शुरुमा परीक्षण गर्दा पोजेटिभ र त्यसको लगत्तै केही बेरपछि परीक्षण गर्दा नेगेटिभ आएपछि मन्त्रालय आउन थाल्नुभएका मन्त्री पौडेललाई शुक्रवार पुनः पोजेटिभ देखिएको हो ।
मन्त्री पौडेललाई पोजेटिभ देखिएपछि वार्तामा बसेका अधिकांश होम आइसोलेसनमा बसेका छन् । मन्त्री सँगै शिक्षा सचिव यादव कोइरालालाई पनि आइसोलेसनमा बस्नुभएको छ ।
मन्त्रालयका प्रशासन महशाखा प्रमुख युवराज सुवेदी, सहसचिव एवं पवक्ता दीपक शर्मा लगायत केही कर्मचारीलाई पनि कोरोना देखिएको मन्त्रालय स्रोतले जनाएको छ ।