
अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभाबाट पास गर्ने विषयमा सत्ता गठबन्धनभित्र असहमति चुलिएपछि प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस गठबन्धनको विकल्प खोज्दै अघि बढ्न तयार भएको छ ।
पाँच दलीय गठबन्धन बनेको १० महिनामा नै प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धन तोड्दै एमसीसी पास गर्न तयार हुनुभएको हो ।
बिहीबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एकै दिन दुई चरणमा वार्ता भएको थियो । दिउँसो संसद् भवनमै र साँझ प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा वार्ता भएको हो । प्रमुख सत्तारूढ दल कांग्रेसले गठबन्धनभित्रबाट एमसीसीमा सहमति हुने अवस्था नदेखेपछि एमालेको साथ खोज्दै आइरहेको छ ।
बिहीबार डाकिएको प्रतिनिधि सभाको बैठकअघिसमेत गठबन्धनभित्र एमसीसीका विषयमा सहमति नजुटेपछि कांग्रेस विकल्पको रोज्न अघि बढेको हो । कांग्रेस पछिल्ला केही दिनयता सभामुखको भूमिकाप्रति समेत असन्तुष्ट सचेत बनेको छ ।