
बहु प्रतीक्षित पाँचौँ झापा गोल्डकप आजदेखि सुरु भएको छ ।
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सुरु भएको गोल्डकपको पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो ।
आज सम्पन्न उद्घाटन खेलमा काठमाडौँको सात दोबाटो यूथ क्लब विजयी भएको छ । काठमाडौँकै जावलाखेल यूथ क्लबलाई टाई ब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।
खेल सुरु भएको तेस्रो मिनेटमै सातदोबाटोका लागि विदेशी खेलाडी अजयी मार्टिनले गोल गरेका थिए । निरज चौधरीले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मार्टिनले ‘वान टच’मा गोल गरेका थिए । खेलको १३ औँ मिनेटमा जावलाखेलले १/१ को बराबरी गर्यो । विदेशी खेलाडी निकोलस फर्नान्डेजको क्रसमा जुनियरले गोल गरे । खेलको ३५ औँ मिनेटमा जुनियरले दोस्रो गोल गर्दै खेललाई २–१ को अन्तरमा पुर्याए ।
पहिलो हाफ २–१ मा टुङ्गियो । दोस्रो हाफको ८ औँ मिनेटमा सातदोबाटोका आशिष् राईले गोल गर्दै खेल बराबरीमा पारे । निरज चौधरीकै पासमा राई जावला खेलका गोल रक्षक ईश्वर गुरुङ बिट हुँदा गोल गर्न सफल भएका थिए । निर्धारित समयमा बराबरीमा भएपछि खेल टाई ब्रेकरमा पुगेको थियो ।
पहिलो खेलको म्यान अफ दि म्याच सातदोबाटोका गोलरक्षक अभिषेक बराल घोषित भए । उनले नगद ९ हजार ९९९ नगद पाए ।
आइतबारको दोस्रो खेल नेपाल पुलिस क्लब र सङ्कटा क्लबबिच हुने आयोजकले जनाएको छ ।
३० फागुनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका ८ र भारतका दुई क्लबको सहभागिता छ भने विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पुरस्कार पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।