
भारतमा लकडाउन उल्लंघन गर्नेलाई रोक्न खोज्दा प्रहरीको हात काटिदिएको छ । भारतको उत्तरी राज्य पञ्जाबमा लकडाउन उल्लंघन गर्नेलाई रोक्न खोज्ने प्रहरीको हात काटिदिएको छ भने अन्य दुई प्रहरी पनि घाइते भएका छन् ।
आइतवार विहान ६ः१५ बजे पटियालास्थित तरकारी बजारमा लकडाउन उल्लंघन गरिरहेका चार जनाको समूहले स्थानीय प्रहरी असई हार्जीत सिंहको हात काटिदिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनीहरुको गाडी तरकारी बजारमा प्रवेश गर्ने क्रममा प्रहरी टोलीले लकडाउनमा सवारी चलाउन पाउने पास नभएको भन्दै रोकेको थियो । उक्त निहुँमा उनीहरुले प्रहरीमाथि आक्रमण गरेका भारतीय सञ्चारमाध्यमहरुमा खबर प्रकाशित छ ।
आक्रमणमा प्रहरी असई सिंहको हात काटिएको हो भने उक्त घटनामा अन्य प्रहरी अधिकारीको पनि काँध, कुहिनो तथा खुट्टामा चोट लागेको सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।
प्रहरीलाई आक्रमण गरेपछि उनीहरु गुरुद्वारा खिचडी शाहिबतर्फ भागेका थिए । असई सिंहको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि चण्डीगढको पीजीआई अस्पतालमा पठाईएको छ । एजेन्सी