
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा हरियो रङको मतपत्र बनाउन लागेकोप्रति आपत्ति जनाएका छन् ।
कुन आधारमा त्यो राखिएको भन्दै ओलीले सच्याउनुपर्ने बताए ।
‘निर्वाचन आयोगले मत पत्रमा हरियो रंग राख्ने भयो रे,’ पार्टी निकट महिला संघले मंगलबार आयोजना गरेको कार्यक्रममा भने, ‘किन राख्ने ? यदि हो भने कुन हिसाबले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? कुन हिसाबले राख्ने हो ?’
ओलीले थपे, ‘सबैतिर रुखै रुख देखुन् भनेर हरियो राख्ने हो ? यदि निर्वाचन आयोगले त्यस्तो गरेको हो भने त्यो सच्याउनुपर्छ । हरियो हुँदैन ।’
‘के हिसाबले हो यो चिह्न राख्ने? अथवा कसैको हरियो देखिने चिह्न छ कसैको, त्यसकारण राख्ने? केका लागि राख्ने? सबैतिर जनताले आँखा नदेख्ने, कमजोर आँखा हुनेहरुले रुखैरुख देखुन् भनेर हरियो राख्ने हो? किन हरियो राख्ने?’ ओलीको प्रश्न थियो ।
उहाँले कांग्रेसको चुनाव चिह्न रुख हरियो हुने भएकाले त्यसलाई फोकस गर्न यस्तो निर्णय गरिएको दाबी गर्नुभयो । मतपत्रमा हुने चिह्नको रंगले मतपरिणाममा प्रभाव पर्ने संकेत ओलीको थियो ।