
वैशाखमा हुने स्थानीय तह चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले मनोनयन दर्ता अघि नै राजीनामा दिनुपर्ने व्यवस्थाप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूले आपत्ति जनाएका छन्।
निर्वाचन आयोगले बनाएको निर्वाचन आचारसंहिता २०७८ को २६ औं बुँदामा जनप्रतिनिधिहरू उम्मेदवार हुने हो भने मनोनयन दर्ताअघि नै राजनीनामा दिनुपर्ने उल्लेख छ।
एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय तह निर्वाचन आचारसंहितामाथि प्रश्न उठाउनुभएको छ ।
शुक्रबार विहान सामाजिक सञ्जालमार्फत उहाँले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न पदमा बहाल जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने सर्त व्यवहारिक नभएको टिप्पणी गर्नुभएको हो ।
पालिका अध्यक्ष वा मेयरहरुले चुनावमा जानुअघि पद खाली गरि जनतालाई दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ? भन्दै उहाँले प्रश्न गर्नुभएको छ ।
प्रधानमन्त्रीले चुनाव लड्दा पद खाली गर्नु पर्दैन। स्थानीय तहका पालिका अध्यक्ष वा मेयरहरुले चाहिँ चुनावमा जानुअघि पद खाली गरि जनतालाइ दिनुपर्ने सेवा नै बन्द गर्नु पर्ने किन ? रिमालको प्रश्न छ ।