
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले भारतको रक्सौलबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताउनुभएको छ ।
जनकपुरधामस्थित रेल्वे स्टेसनमा आज आयोजित जयनगर–कुर्था रेल सेवा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले भारतको रक्सौलबाट सिमरा र सिमराबाट काठमाडौँसम्म रेल सेवा विस्तार हुने बताउनुभयो ।
विराटनगरबाट बर्दिबाससम्म पनि रेल सेवा विस्तार गर्ने तयारी भइरहेको मन्त्री यादवको भनाइ छ ।
रेल चलेपछि नेपालको बेरोजगारीको अन्त्य हुनुका साथै आर्थिक विकास र समृद्धिमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुहुँदै मन्त्री यादवले विकास र समृद्धिका लागि यातायात पूर्वाधार विस्तारलाई सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले रेल सेवा सञ्चालनले मधेस प्रदेशको विकास र समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । रेल सेवा सरकारको विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि कोसे ढुङ्गा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
नेपालका लागि कार्यवाहक भारतीय राजदूत नाव्या खम्पाले नेपाल सरकारसँग मिलेर काम गर्न चाहेको बताउनुहुँदै रेल सेवा यसैको उदाहरण भएको बताउनुभयो । उहाँले रेल सेवा सञ्चालनसँगै नेपाल र भारतबिचको सम्बन्ध अझ मजबुत बन्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल रेल्वे कम्पनी लिमिटेडका महानिर्देशक दीपककुमार भट्टराईले भोलि आइतबारदेखि दैनिक दुई पटक जयनगर–कुर्था रेल चल्ने जानकारी दिनुभयो ।