
सरकारले आयातमा कडाई गरेसँगै बजार भाउ थप अनियन्त्रित बनेको छ । व्यापारीहरुले आफुखुशी मुल्यवृद्धि गर्दा दैनिकी उपभोग्य हरेक सामानको मुल्य आकाशिएको छ । मुल्यवृद्धिको प्रत्यक्ष असर आम सर्वसाधरणमा परेको छ ।
नागरिकलाई दैनिक हातमुख जोड्नै कठिन भइरहँदा सरकार भने मुखदर्शक बनिरहेको छ । केहि समय यता बजारमा दैनिक उपभोग्य बस्तु खाद्यन्न, तरकारी लगायत हरेक सामानको भाउ छोइनसक्नु भएको छ । अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्य थपघट भए पनि नेपालमा भने साउनयता निरन्तर बढेकै छ ।
आयातमा कडाई गरेको र इन्धनको मूल्यलाई सहारा बनाएर व्यवसायीहरुले स्थानीय उत्पादनमा समेत सर्वसाधरणको डाढ नै सेक्ने गरी मुल्यवृद्धि गरिरहेका छन् । अहिले बजारमा खाने तेलको मुल्य सबैभन्दा धेरै बढेको छ ।
केहि समय अघिसम्म प्रतिलिटर २ सय ४० रुपैयामा पाइने सनफ्लावर तेल अहिले २ सय ९५ पुगेको छ । १ सय ८० रुपैयाँ पर्ने भटमासको तेललाई २ सय ७० पुगेको छ । चामल र दालमा प्रतिकेजी २० रुपैयासम्म मूल्य बढेको छ ।
तरकारी तथा फलफुलको मुल्य थप आकाशिएको छ । कागतीको मुल्य प्रति केजी ४ सय ५० देखि ५ सय रुपैया पुगेको छ । खुद्रा पसलमा केराको मुल्य १ सय ५० देखि २ सम्म पुगेको छ । वेमौसमी फलफुल, हरियो तरकारी मात्र होइन मौसमी तरकारी, फलफुलको मुल्य दोब्बर भएको छ ।
दैनिक उपभोग्य तरकारी तथा फलफूलमा भएको मूल्यवृद्धिको प्रत्यक्ष मारमा सबैभन्दा धेरै निम्न र मध्यम वर्गीय उपभोक्ता परेका छन । उनीहरुलाई दैनिक हातमुख जोड्नै कठिन भैसकेको छ । बजार र व्यापारी अनुसार सामानको मुल्य मनलाग्दी लिने गरेको उपभोक्ताको गुनासो छ ।
घट्दो विदेशी मुद्रा सञ्चितिलाई लक्षित गर्दै सरकारले आयातमा कडाई गरेपछि व्यवसायीले सामानको मूल्य बढाएर उपभोक्ता ठगिरहेका छन् । अनुगमन गर्ने निकाय एक–अर्कालाई दोष दिनमै व्यस्त छन् ।
सरकारकै कमजोरी र जनताप्रति उत्तरदायी नबन्दा बजारमा कृत्रिम अभाव सृजना गरी उपभोत ठग्ने काम भैरहेको उपभोत अधिकारकर्मीहरुको तर्क छ ।
सरकारी निकाय नेपाल राष्ट्र बैंकले अहिले २५ प्रतिशतले उपभोग्य वस्तुको मूल्यवृद्धि भएको जनाएको छ । सरकार नागरिकको दैनिकीसँग भन्दा आसन्न चुनावको तयारीमा होमिदा बजार थप अराजक बनिरहेको छ ।