
नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले स्थानीय निकायको निर्वाचनमा सहमतिविपरीत भएका उम्मेदवारी फिर्ताका लागि पहल भइरहेको बताएका छन् ।
गुरुङले धेरैजसो पालिकाहरुमा गठबन्धनभित्रकै सहमतिका आधारमा उम्मेदवारी दर्ता भएको भन्दै सहमतिविपरीत भएका उम्मेदवारी फिर्ताका लागि पहल भइरहेको बताए ।
उनले वडास्तरमा पनि सहकार्यलाई निरन्तरता दिनका लागि फरक–फरक रुपमा भएका मनोनयन फिर्ता हुने दाबी गरे । गुरुङले वडा तहमा सहमति हुन नसके पनि प्रतिगमनको प्रवृतिलाई हावी हुन नदिने गरी संविधान विरोधी पक्षलाई दुरुत्साहित गर्ने कोसिस हुने बताए ।
त्यस्तै, गुरुङले वित्तीय एकाधिकार दलाल पुँजीवादका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको तर्क गरे । परनिर्भरतामा मुलुक गइरहेको र स्वदेशी वस्तुको उत्पादनमा ध्यान नपुग्दा अहिलेको अवस्था आएको उनको भनाइ छ ।
परनिर्भरता न्यूनीकरण गर्दै आत्मनिर्भर बनाउन राज्यको भूमिका हुनुपर्नेमा यसअघिको सरकारको त्यसतर्फ ध्यान जान नसकेको उनको भनाइ छ ।