
जगदम्बा ग्रुपका संचालक सुलभ अग्रवाललाई प्रहरीले पुन: पक्राउ गरेको छ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवाललाई २५ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। धरौटीमा रिहा भए लगत्तै प्रहरीले अग्रवाललाई अदालत परिसरबाटै फेरि पक्राउ गरेको हो।
ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा गत चैत २५ गते पक्राउ परेका सुलभ अग्रवाल काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुट्ने वित्तिकै पक्राउ परेका छन् । उनीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
थर्मल गन कालो बजारी गरेको आरोपको मुद्दामा अग्रवाललाई जिल्ला अदालत काठमाडौंले बिहीबार २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतमा धरौटी बुझाएर रिहा हुनेवित्तिकै उनलाई प्रहरीले पक्राउ गरी भेनमा राखेको थियो ।
महानगरीय अपराध महाशाखाको टोलीलाई अग्रवाललाई चैत २५ गते कालोबजारीको अभियोगमा नियन्त्रणमा लिएको थियो। उनीविरुद्ध प्रहरीले चारवटा मुद्दा दर्ता गरेको छ।