९ बैशाख २०८२, मंगलवार

माओवादी केन्द्रलाई सघाउन एमालेले लियो उम्मेदवारी फिर्ता

uml maoist

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा (नेकपा) एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएका कुँवरले नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको (नेकपा) एमाले धुर्कोट गाउँपालिका सचिव सूर्य घिमिरेले जानकारी दिनुभयो ।

धुर्कोट गाउँपालिकामा (नेकपा) एमालेबाट गाउँपालिका अध्यक्षमा गोपाल कुँवर र उपाध्यक्षमा सीता गिरीले उम्मेदवारी मनोनयन गराउनुभएको थियो । नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष पदका लागि भुपाल पोखरेलले मनोनयन दर्ता गराउनुभएको छ ।

एमालेबाट उम्मेदवार बन्नुभएका कुँवरले नेकमा माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने सहमतिमा उम्मेदवारी फिर्ता लिइएको सचिव घिमिरेले बताउनुभयो । अब धुर्कोट गाउँपालिकामा (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पदका उम्मेदवार पोखरेल र नेकपा एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार गिरी बन्ने घिमिरेले बताउनुभयो ।

दुई उम्मेदवार बिचको सहमती अनुसार अध्यक्ष पदमा आ–आफना पार्टीका चुनाव चिन्हमा लडनेछन् । (नेकपा) एमाले धुर्कोट गाउँपालिकाले गरेको सहमति अनुसार सबै वडाहरुका पदमा भने सूर्य चिन्हका उम्मेदवारहरु रहने घिमिरेको भनाइ छ ।

पोखरेल ०७४ सालमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेकपा माओवादी बिच तालमेल गरेर अध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो ।

गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट महेन्द्र भण्डारी र एकीकृत समाजवादीबाट कमला सुनारले तालमेलबाट उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको छ । धुर्कोट गाउँपालिकामा काँग्रेस र एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसबीच चुनावी तालमेल भएको थियो । तालमेल अनुसार अध्यक्ष पदमा माओवादी केन्द्रका भुपाल पोखरेल र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका शिब खत्री निर्वाचित हुनुभएको थियो ।