
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले आगामी जुन महिनाबाट कामदार फिर्ता ल्याउन थालिने बताएका छन्। यसका साथै खाडी देशबाट नेपाल फर्कनुपर्ने अवस्थाका कामदारका लागि क्वारन्टीनको व्यवस्था गर्न गृहकार्य अघि बढाइएको बताए ।
शुरुमा कुवेतबाट झण्डै ७ हजार कामदार ल्याउनुपर्ने अवस्था रहेको र खाडी क्षेत्रमा रहेका सबै नेपाली दूतावासहरूलाई रोजगारी गुमाएका वा विभिन्न सङ्कटमा परेका कारण स्वदेश फर्कन चाहेका कामदारको विवरण सङ्कलन गर्न निर्देशन दिइएको मन्त्री यादवले बताए।
यसअघि खाडी देशमा रहेका नेपाली राजदूतहरूले अत्यावश्यक रूपमा नेपाल फर्कनुपर्ने कामदारहरूका लागि तत्कालै क्वारन्टीनको व्यवस्था गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेका थिए।
हालसम्म ४० लाख कामदार नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। तथ्यांक अनुसार अघिल्लो वर्ष वैदेशिक रोजगारीका निम्ति जानेहरू मध्ये झण्डै ९० प्रतिशत खाडी देशहरूमा गएको पाइएको छ ।
कुवेत र युएई
कुवेत र युएईद्वारा कामदार फिर्ता लग्न नेपालसँग माग बारे आफू पनि जानकार रहेको उल्लेख गर्दै मन्त्री यादवले प्रत्यक्ष प्रभावित भएका व्यक्तिको तथ्याङ्क सङ्कलन गर्न निर्देशन दिएको बताए।
उनले भने, “कुवेतले तुरून्तै नेपाली कामदारहरूलाई लैजानुपर्यो भनेको छ। हामीहरू त्यसका लागि सम्पर्कमा छौँ र समन्वय गरिरहेका छौँ।
जुन जुन देशमा हाम्रा नेपाली दाजुभाइ दिदीबहिनी फर्कनुपर्ने अवस्था छ, उहाँहरूलाई हामी जुन महिनाबाट ल्याउने वातावरण बनाउँदैछौँ।”
कुवेतले ७ हजारदेखि ९ हजार नेपाली कामदार फिर्ता गर्न लागेको भन्दै उनले उनीहरूलाई फिर्ता ल्याउनका लागि हाल बन्द रहेका होटल तथा विद्यालयहरुलाई क्वारन्टीन केन्द्र बनाउनेबारे छलफल भएको जानकारी दिए।
संयुक्त अरब एमिरेट्स
त्यसबाहेक संयुक्त अरब एमिरेट्सले पनि नेपाली कामदारहरू फिर्ता लैजान भनेको तर राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँस्थित आफ्ना समकक्षीसँग कुराकानी गरेपछि उक्त विषय हाल स्थगित भएको जानकारी मन्त्रीले दिए।
मन्त्री भन्छन्, “फर्काउँदा पनि स्वास्थ्य जाँच गरेर मात्रै फर्काउँछौँ। हामीले सम्बन्धित देशहरूलाई एकैचोटी ठूलो सङ्ख्यामा स्वास्थ्य जाँच गर्न हामीलाई पनि गाह्रो पर्छ भनेका छौँ। त्यहाँ नै स्वास्थ्य जाँच गरेर सङ्क्रमित नभएकालाई मात्रै ल्याउने वातावरण हामी बनाउँछौँ।”
विज्ञहरूले चाहिँ दशौँ लाखको सङ्ख्यामा खाडी देशमा नेपाली श्रमिक रहेका र उनीहरूलाई आफ्नै बलबुतामा स्वदेश फर्काउनु नेपालका लागि ठूलो चुनौती हुनसक्ने बताएका छन्।