
भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी काठमाडौं आएका छन् ।
उनी भिस्तारा एयरलाइन्सको विमानबाट सोमबार अपरान्ह ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल उच्च स्रोतले बतायो ।
गान्धी नागपोखरीस्थित होटल मेरियटमा बसेका छन् । उनी पारिवारिक भ्रमणका क्रममा नेपाल आएको जनाइएको छ । गान्धी बिहीबार एक विवाहमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ । गान्धीले नेपालमा रहँदा पर्यटकीय स्थलको भ्रमण गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ ।
उनी पूर्व राजदूत भीम उदासकी छोरी सुम्निमा उदासको वैवाहिक समारोहमा बिहीबार सरिक हुने कार्यक्रम छ । नेता गान्धीले ५ दिन नेपालमा बिताउने छन् । नेपाल भ्रमणका क्रममा गान्धी रारा वा मुस्ताङ भ्रमणमा जान सक्ने स्रोतले बताएको छ । उनी शुक्रबार स्वदेश फर्कनेछन् ।
यसअघि उनी २०७५ साल भदौ १५ गते पनि नेपाल आएका थिए ।