
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको १५४ मत गणना हुँदा गठबन्धन (कांग्रेस) का मेयरका उम्मेदवार तिर्थराज भट्टराईले ८१ मत र नेकपा एमालेका मेयरका उम्मेदवार कुमार आचार्यले ६० मत पाएका छन् ।
यस्तै, गठबन्धन (माओवादी केन्द्र)का उपमेयरमा उम्मेदवार बिसन राईले ८० र एमालेका उपमेयरका उम्मेदवार बिणादेबी राईले ४६ मत पाएकी छन् । १५ वडा रहेको नगरपालिका जिल्लाकै केन्द्र मानिन्छ । यही कारण यस नगरपालिकाको परिणामलाई सबैले चासोका रुपमा लिइरहेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा मेयरमा एमालेका दिपनारायण रिजाल र उपमेयरमा बिणादेबी राई निर्वाचित भएकी थिईन् । बिणादेबी पुःन उपमेयरमा उठेकी हुन् ।
एमालेका उम्मेदवार फौदराज राई विजयी
बराहपोखरी गाउँपालिका–५ पौवासेरामा गठबन्धनलाई पछि पार्दै एमालेका उम्मेदवार फौदराज राई वडाध्यक्ष चुनिएका छन् ।
उनले ६३४ मत ल्याएर गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्ष चुनिएका हुन् । निर्वाचनमा उनको प्यानल नै बिजयी भएको हो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।

गठबन्धनले जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानमा खाता खोलिसकेको छ । देबिस्थानमा गठबन्धनकातर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार केदारमान राई वडाध्यक्षमा विजयी बनेका हुन् । उनी ४५९ मत ल्याएर वडाध्यक्षमा विजयी बनेका हुन् ।
याम्खामा कांग्रेसको प्यानल विजयी
दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खामा कांग्रेसको प्यानल विजयी भएको छ । कांग्रेसका वडाध्यक्षका उम्मेदवार केशव खत्री ३९२ मत पाएर विजयी भएका हुन् । उनी प्यानल सहित विजयी भएका हुन् । माओवादी केन्द्रका राजेन्द्र राईले ३८० र एमालेका दिपबहादुर खत्रीले ३४४ मत प्राप्त गरेका छन् ।
