७ बैशाख २०८२, आईतवार

लकडाउनले नछोएको भेरी बबई आयोजना

veri babai ayojana surkhet

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीमा पनि सुर्खेतस्थित राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम धमाधम भइरहेको छ ।

सरकारले लकडाउनमा राष्ट्रिय गौरवका आयोजनाको काम नरोक्न निर्देशन दिएपछि भेरी बबईले दोस्रो चरणका निर्माणलाई निरन्तरता दिएको हो।

त्यहाँ कार्यरत मजदुर तथा प्राविधिक र आवश्यक सामग्रीहरू मौज्दातमा राखिएकाले बन्दाबन्दीको असरले आयोजनालाई छोएको छैन । आयोजनाको मुहानस्थल सुर्खेतको भेरी गङ्गा नगरपालिकाको चिप्लेमा अहिले दोस्रो चरणको कामअन्तर्गत ड्याम, हेड वर्क र पावर हाउस निर्माणका काम धमाधम भइरहेको छ । पहिलो चरणमा पर्ने सुरुङ खन्ने काम २०७५ वैशाख १ गते नै भइसकेको छ ।

बाँधस्थल चिप्लेमा हाल १३० कामदार कार्यरत छन्। सबै कामदारलाई आयोजनास्थलमा सञ्चालित क्याम्पमै खाने बस्ने व्यवस्था मिलाइएको छ। लकडाउन लम्बिए पनि अत्यावश्यक सामग्री अभाव हुन नदिने तयारीमा रहेको आयोजनाले जनाएको छ। प्रशासनले लकडाउन अवधिमा स्थानीय स्रोतसाधन प्रयोग गरेर आयोजनाको काम अघि बढाउन निर्देशन दिए पनि ठेकेदारलाई सिमेन्ट बाहिर जिल्लाबाट ल्याउनुपर्ने बाध्यता रहेको छ। सुर्खेतमा सिमेन्ट उद्योग छैनन्।

नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम)बाट १२ किमी सुरुङ खनिएको छ । सुरुङको ब्रेक थ्रुपछि अहिलेसम्म १० प्रतिशत काम सम्पन्न भएको छ ।