
आफ्नै १४ वर्षीया बहिनीलाई करणी गरेको अभियोगमा मध्यपुर ठिमीस्थित बाेँडेबाट २३ वर्षीय युवक सोमबार पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक घर भई हाल बाेँडेस्थित जस्ताको टहरामा बस्दैआएका ती युवकले राति बहिनी सुतेको मौका छोपी करणी गरेको प्रहरीले बताएको छ ।
पीडितको किटानी जाहेरीको आधारमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीविरुद्ध प्रहरीले जिल्ला अदालत भक्तपुरबाट ७ दिन म्याद थपको अनुमति लिई अनुसन्धान गरिरहेको छ। जबर्जस्ती करणी तथा हाड्नाता करणीसम्बन्धी कसूरमा उनीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ।
महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार अभियुक्तलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।
त्यस्तै धादिङबाट ना. ६ ख ५६१५ नम्बरको ट्रकमा काठमाडौँ आउँदै गरेकी २० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ट्रकका सहचालक कृष्ण सतारलाई प्रहरीले थानकोटबाट पक्राउ गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न सञ्चालन गरेको ‘लकडाउन’ का कारण सडकमा अलपत्र परेकी ती युवतीलाई उद्धार गरी काठमाडौं पुर्याइदिने भन्दै करणी गरेको पीडितले बताएकी छिन् ।