
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकभर जारी लकडाउन अझै कडा गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले लकडाउनको पालना र भारतसँगको सीमामा आवातजावत कडाइ गर्न गृह मन्त्रालयलाई निर्देशन दिएका छन्। आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनका कारण नै कोरोना नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनमा लकडाउन उल्लंघनका घटना बढेको बताए ।
“हामीले गरेको लकडाउनका कारण नै कोरोना नियन्त्रणमा आएको हो,” प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, “लकडाउन अझै कडा गरौँ ।” उनले सीमा क्षेत्रमा र बाहिर पनि आवतजावतलाई कडाइ बनाउन गृह मन्त्रीलाई निर्देशन दिएका थिए ।
“सीमाना र आवतजावतमा कडाइ गरेर शून्यमा झार्नू,” प्रधानमन्त्रीको निर्देशन थियो । सरकारले आह्वान गरेको लकडाउन ४१ दिन पूरा भइसकेको छ ।
‘अहिलेसम्म नेपालमा कोरोनाभाइरसबाट कसैको मृत्यु भएको छैन। हामीले संक्रमण शुन्यमा झार्ने पनि लकडाउन पालना गरेरै हो,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने।
सरकारले चैत ११ गते देशव्यापी लकडाउन गरेको छ। पछिल्लो समय थपिएको लकडाउनको अवधि वैशाख २५ गते सकिँदैछ।
आजको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई उच्च मनोबलका साथ काम गर्न पनि भनेका थिए।
‘हिजो सचिवालयमा भएको निर्णयबारे पनि कुरा राख्नुभयो,’ ती मन्त्रीले भने,‘पार्टी एक भएर जाने भएको छ तपाईंहरू पनि खुसीसाथ काम गर्नुस् भन्नुभयो।’