८ बैशाख २०८२, सोमबार

नेपालगन्जमा एकैदिन १५ जनामा कोरोना, संक्रमितको संख्या ७५ पुग्याे

bikas devkota

नेपालगन्जमा आइतबार १५ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । दिउसो ९ जना र बेलुका थप ६ जनामा कोरोना संक्रमण देखा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालगन्जमा १५ र वीरगन्जमा एकजनामा गरी आइतबारमात्रै १६ जनामा कोरोना देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।

नेपालगन्जमा तीनदिन पहिला कोरोना संक्रमित फेला परेका थिए । उनै संक्रमितको सम्पर्कमा रहेकाहरु थप १५ जनामा कोरोना देखिएको स्रोतले जानकारी गराएको छ । तीनदिनअघि नेपालगन्ज– ७ का बासिन्दा हुन् । स्वास्थ्य मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले वीरगन्जमा एक र नेपालगन्जमा ९ जनामा कोरोना देखिएको बताएका थिए ।

“वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ,” उनको भनाइ थियो, “भेरी अस्पतालको प्रयोगशालमा ९ जनामा पनि कोरोना देखिएको छ ।” बेलुका थप ६ जनामा कोरोना देखिएको मन्त्रालयले जनाएको छ । ७ देखि ५८ वर्षसम्मका व्यक्तिलाई कोरोना संक्रमण देखिएको उनको भनाइ थियो ।