
अर्थमन्त्री जनार्दन शर्माले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा नभएको बताएका छन ।
स्वदेशी बस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताएका मन्त्री शर्माले वर्षको बजेट पूर्ण रुपमा कार्यान्वयन हुने दावी समेत गरेका छन ।
आगामी आर्थिक बर्ष २०७९÷८७ को बजेट निर्वाचनमुखि भएको प्रतिपक्षी दलका सांसदहरुको आरोप अर्थमन्त्री जनार्दन शर्माले खण्डन गरेका छन ।
बजेटमा चुनावसँग सम्बन्धित कुनै पनि कुरा नभएको बताएका उनले उत्पादन वृद्धि गर्ने कुरा, आत्र्मनिर्भर अर्थतन्त्र बनाउने कुरा, तलव वृद्धि गर्ने कुरा कुनै पनि कुरा चुनावसँग सम्बन्धित छ भनेर भन्न नमिल्ने स्पष्ट पारेका हुन ।
चार वर्ष अघिको सरकारले ल्याएको कार्यक्रमलाई पनि बजेटले निरन्तरता दिएको उल्लेख गर्दै त्यसलाई पनि चुनावी बजेट भन्न मिल्छ र ? भनि प्रश्न गरेका उनले सरकारको प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसारनै बजेट आएको पनि बताए ।
आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सृजना गर्ने, गरिवीको अन्त्य गर्ने, हाम्रा स्रोत, साधनहरुको सही परिचालन र व्यवस्थापन गर्ने कुरा उल्लेख गरिएको बताउनु मन्त्री शर्माको भनाई छ ।
अर्थमन्त्री शर्माले स्वदेशी बस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताए । अर्थ मन्त्रालयमा प्रयोग गरिएको सेनिटाईजर समेत विदेशी भएको पाइएको पनि आफूहरुले स्वदेशी बस्तुको प्रयोगमा जोड दिने निष्कर्ष निकालिएको मन्त्री शर्माको भनाई छ ।
सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पूर्ण रुपमा कार्यान्वयन हुने दावी समेत शर्माको छ । मन्त्री शर्माले बजेटमा निर्माण व्यवसायीलगायतका केही विषयहरु छुटेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई समेटेर अघि बढने प्रतिवद्धता समेत गरेका छन । बजेट पूर्ण र उत्कृष्ट नभएपनि देश र जनताको आकांक्षालाई सम्बोधन हुने गरी आएको उनको भनाई छ ।
अर्थमन्त्री शर्माले बजेटले आयात प्रतिस्थापन गर्ने, स्वदेशी उत्पादनमा जोड दिने, रोजगारीको अवसर सृजना गर्ने कामलाई प्राथमिकता दिएको समेत स्मरण गराएका छन ।