
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले जुन देशमा भाषा, संस्कृति एवं कला र साहित्य बलियो हुन्छ त्यो देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुने बताउनुभएको छ ।
आज सङ्गीत रोयल्टी समाज नेपालको १६ औँ स्थापना दिवस तथा स्रष्टा सम्मान एवं रोयल्टी वितरण कार्यक्रममा उहाँले नेपाली गीत, सङ्गीतका स्रष्टाहरूकै कारण देशको राष्ट्रियता र सार्वभौमिकता बलियो हुँदै गएको बताउनुभयो ।
मन्त्री आलेले हाल विद्यमान प्रतिलिपि अधिकार ऐन, २०५९ का अतिरिक्त नेपाल वर्न महासन्धि, १८८६ को पक्ष राष्ट्र भएको नाताले उक्त महासन्धिले समेत नेपाली स्रष्टा सर्जकको हक अधिकारको संरक्षणलाई बल प्रदान गरेको जानकारी गराउनुभयो ।
मन्त्री आलेले आफ्ना गीत, सङ्गीत तथा सिर्जनाका माध्यमबाट राष्ट्र सेवा र राष्ट्रियताको जगेर्नाका निम्ति योगदान गर्ने सम्पूर्ण गीतकार, सङ्गीतकार, स्रष्टा सर्जकप्रति विशेष सम्मान व्यक्त गर्नुभयो । राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनी अधिकारको संरक्षण र प्रचलनका लागि सघाउ पुर्याउने उद्देश्यले नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयको स्थापना गरेको जानकारी गराउँदै मन्त्री आलेले अब स्रष्टाहरूले आफ्ना गीत, कला, सिर्जना तथा सङ्गीतका माध्यमबाट रोयल्टी पाउन सहज भएको जानकारी गराउनुभयो ।
गीतकार, सङ्गीतकार, स्रष्टा सर्जकलाई आफूले सधैँ सम्मान गर्दै आएको र उहाँहरूलाई आवश्यक पर्ने सहयोगका लागि आफू सधैँ तयार रहने मन्त्री आलेको भनाई थियो ।
कार्यक्रममा नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयको स्थापना गर्न सहज पुर्याएको भन्दै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व रवीन्द्र अधिकारीलाई स्मरण गर्दै उहाँकी धर्मपत्नी एवं सांसद विद्या भट्टराईलाई सम्मान गरिएको थियो । रासस