
प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को विनियोजित विधेयकमाथि आज सांसदहरू प्रेम सुवाल, दुर्गा पौडेल, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ र भीम रावलले मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुभयो ।
सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालय अन्तर्गतको शीर्षकहरूमाथिको छलफलमा सांसदहरुले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सरकारी अस्पतालको सुधार गर्नुपर्ने, अस्पतालको शय्या र पूर्वाधार तथा गुणस्तरीय सेवा हुनुपर्ने, स्वास्थ्य उपचार सहज र सस्तो हुनुपर्ने, स्वास्थ्य बीमालाई व्यापारीकरण हुन दिन नहुने, गाजाको औषधीय गुणलाई वैधानिक बनाउनुपर्ने, नेपालको परराष्ट्र नीतिलाई सन्तुलित बनाउनुपर्ने सुझाव दिनुभयो ।
दुर्गम तथा पहाडी क्षेत्रका महिला लक्षित स्वास्थ्य सेवा प्रदान गर्न, कृषि योग्य जमिनमा बस्ती बस्न नदिन र पहाडी क्षेत्रमा जथाभाबी बाटो खनिने प्रवृत्तिले बस्तीहरू जोखिममा फस्दै गएको तर्फ ध्यान पुर्याउन सांसदहरुले सुझाव दिनुभयो ।
सांसदहरुले फोहोर व्यवस्थापन, सार्वजनिक शौचालय, यातायात क्षेत्र तथा सहरी विकास र व्यवस्थापनमा जोड दिँदै बजेट विनियोजन सन्तुलित नभएको बताउनुभयो ।