
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीविरुद्ध मीना भण्डारी बस्नेतले अभद्र व्यवहारमा जाहेरी दिएकी छन् ।
मंगलबार बिहान पक्राउ परेकी वलीविरुद्ध मिनाले अपरान्ह इलाका प्रहरी कार्यालय तुलसीपुरमा वलीविरुद्ध जाहेरी दिएकी हुन् । जाहेरीमा उनले आफूलाई बेडरुममै गएर कुटपिट गरेको मिनाले बताएकी छन् ।
प्रहरीमा दिएको जाहेरीमा मिनाले विमला बिहान ८:४५ बजे आफ्नो घरमा आएर ढोकामा हानेपछि आफूले गेट खोलिदिएको बताएकी छन् । त्यसपछि घरभित्र पसेर एकराजको खोजी गरेपछि आफूले मेरो श्रीमान घर हुनुहुन्न भन्दा विमलाले ‘तेरो श्रीमान होइन मेरो श्रीमान हो, तुरुन्तै निकाल’ भन्दै आफूमाथि आक्रमण गरेको उनको भनाई छ ।
त्यस क्रममा आफ्नो कपाल लुछेर आक्रमण गरेको मिनाले जाहेरीमा उल्लेख गरेकी छन् । जाहेरीमा मिनाले आफ्नो ६ वर्षीया छोरीलाई समेत छुट्याउन आएको बेला हातपात गरेको उल्लेख गरेकी छन् ।
उता, दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले स्वास्थ्य राज्यमन्त्री वलीविरुद्धको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता हुने बताएका छन् । एसपी काफ्लेले ईप्रकाबाट जाहेरी आइपुग्नेबित्तिकै कानूनी प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो ।