
सर्वसारधाणको जनगुनासा पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले ठुला सवारी साधानका प्रेशर हर्न जफत गरेको छ । ट्राफिक प्रहरीले एकै दिनमा ९५ वटा सवारी साधनमा लगाएको प्रेशर हर्न जफत गरेको हो ।
कार्यालयले जिल्लामा गुड्ने सवारी साधनहरुले अस्वभाविक रुपमा जनमानसको स्वास्थ्यमा असर पर्ने गरी प्रेसर हर्न राखि बजाउने गरेको भन्ने जन गुनासो आए लगत्तै त्यस्ता सवारी साधनबाट मापदण्ड विपतरीत राखिएका हर्न जफत गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक केदार खनालले बताए ।
सवारी दुर्घटना न्युनिकरण गर्ने, ध्वनी प्रदुषण नियन्त्रण गर्ने तथा जनचेतना फैलाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय गोरखा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानहरुमा चेकजाँच गर्दा ९५ वटा बस तथा ट्रकहरुमा मापदण्ड विपरीत राखिएका प्रेसर हर्न नियन्त्रणमा लिनुका साथै अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनहरुलाई कारवाहरी समेत गरीएको जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायव उपरिक्षक एवं सुचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।

कारवाहीमा परेका सवारीबाट २५ हजार ५०० रुपैयाँ राजश्व समेत संकलन भएको कार्यालयले जनाएको छ । जाँचका क्रममा सवारी मापदण्ड विपरीत प्रेसर हर्न राख्ने, अनावश्यक लाईटहरु राख्ने, अतिरिक्त सिटहरु राख्ने लगायतका कार्य गर्नेलाई पनि कारवाही गरिएको र त्यस्ता प्रकारका लाईट तथा सिट जफत गरिएको पनि कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले सवारी साधनमा त्यस्ता कार्य नगर्न अनुरोध गरेको र त्यस्ता कार्य गरेको पाईएमा ट्राफिक नियम बमोजिम कडा कारवाही गरीने व्यहोरा समेत अनुरोध गरिएको छ ।