
सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सीमा मिचिएको विषयमा भारतसँग तत्काल वार्ता गर्नु पर्ने बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबारको बैठकमा नेता नेपालले लिम्पियाधुरा–लिपुलेक–कालापानी नेपालको हो भन्ने कुरामा कुनै विवाद नरहेको बताउँदै भारतले नेपाली भूमि मिचेर बाटो बनाएको विषयमा तत्काल कुरा गर्नु पर्ने बताएका हुन् ।
उनले भने, ‘सबै राजनीतिक दल आफ्नो भूमि मिचिन दिनु हुँदैन भन्नेमा एक ढिक्का छन्। उच्च मनोबलका साथ भारत र चीनसँग पनि कुरा गर्नुपर्छ।’
नेपालमा भारत विरोधी भावना बढ्नुमा भारत नै दोषी रहेका बताउँदै उनले भने, ‘सीमा मिच्ने, सुरक्षा फौजले आक्रमण गर्ने गरेको छ । यसले भारतको छिमेकीप्रतिको धारणा नै गलत छ कि भन्ने आशंका जन्माएको छ। अतिक्रमणले नेपालको सार्वभौम सत्तामा आक्रमण गरेको छ। विवादित ठाउँमा यस्ता गतिविधि नगर्न हामीले गम्भीरता पूर्वक आवाज उठाउनुपर्छ।’
उनले अघि भनेका छन्, ‘महाकाली नदीपूर्वको क्षेत्र हाम्रो हो भन्नेमा धेरै प्रमाणहरु छन्। पटक–पटक जारी गरिएका नक्साले त्यो कुरा पुष्टि गर्दछ । यसलाई भारत र नेपाल सरकारले स्वीकार गरेको छ । यति प्रष्ट हुँदाहुँदै पनि मित्रसँग अविश्वास बढाउने काम भएको छ।’
सीमा मिचिएको विषय गति गम्भीर रहेकाले कोरोना भाइरसको महामारीको बहाना पारेर वार्ता टाल्न नहुने भन्दै उनले भने, ‘अहिले पनि भिडियो कन्फ्रेन्समार्फत कुरा गर्न सकिन्छ। अहिले कोरोनाको प्रकोप छ भनेर पन्छिन हुँदैन । मन्त्रीले विवादस्पद कुरा नबोल्नु, समस्या सिर्जना गर्ने, सरकारलाई बदनाम गर्ने काम नहोस्। तत्काल नक्सा सार्वजनिक गर्नुपर्छ।’
उनले भने, ‘भारतसँग सधैंभरी विवाद गर्नुभन्दा अब सिमानामा काँडेतार लगाउनेबारे पनि अघि बढौं । पार्टीको विदेश विभागले पनि आफ्नो धारणा सार्वजनिक गरेको छ । उच्च तहमा यसबारे छलफल गर्नुपर्यो । आफ्नो सम्पूर्ण भूमि समेटेर नक्सा प्रकाशन गर्न ढिला गर्नु भएन । सिमानामा नियमित अनुगमन गर्नुपर्यो । सुरक्षाकर्मीलाई के के सामग्री चाहिन्छ त्यो पनि ब्यवस्था गर्नुपर्यो’, नेता नेपालले भने ।
कहिले सीमाबाट आतंकारी छिर्यो भनेको छ, कहिले के भनेको छ। यसलाई रोक्नुपर्छ।’भारतले पिलर सार्ने, सीमा मिच्ने, सुरक्षाकर्मीको क्याम्प राख्ने जस्ता काम गरेकोले अब काडेतार लगाउनेबारे अघि बढ्नुपर्ने उनको जोड छ ।
नेता नेपालले नेपालको सीमा अतिक्रमणबारे उच्च मनोबलका साथ भारत र चीन सरकारसँग कुरा गर्नुपर्नेमा जोड दिँदै कोरोनका त्रासका बीच भएको सीमा अतिक्रमणले नेपालीको मनमा थप चोट पुगेको बताए ।
उनले सानो छिमेकी देशप्रति भारतको दृष्टिकोण नै ठीक छैन कि भन्ने देखिएको भन्दै भारतले गरेको सीमा अतिक्रमणले नेपाल भारत बीच भएको सम्झौता उल्लंघन भएको बताए ।
उनले भने, ‘भारतले नेपाली भूमिमा सडक बनाउने कामले नेपाली स्वाधिनतामाथि प्रहार भएको छ । तथ्यको आधारमा विवादबारे बसेर छलफल गर्न सकिन्छ । विवादित ठाउँमा भारतले किन विवादित काम गर्नुपर्यो । नेपालको पश्चिम सिमाना लिम्पियाधुरासम्म पर्दछ । त्यसलाई पुष्टि गर्ने थुप्रै आधारहरु छन् ।
हामीसँग थुप्रै नक्सा र दस्तावेजहरु छन् । यस्ता तथ्य प्रमाणले नेपालको सिमाना कालीनदी र त्यसको उद्गम लिम्पियाधुरा हो । नेपालले त्यो भूमिमा दावा छोडेको छैन । भारतको कदमले मित्रराष्ट्र बीच अविश्वास बढाएको छ ।
उनले कोरोना भाइरसको कारण देखाएर भारतसँग कुरा गर्न कुरा गर्न छोड्नु नहुनेमा जोड दिए ।
सीमाबारे जथाभावी नबोल्न मन्त्री अर्याललाई चेतावनी
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले २ सय वर्षदेखि नेपालको नक्सामा लिम्पियाधुरा छैन भनेर अनावश्यक अभिव्यक्ति दिएको बताएका छन् ।
उनले मन्त्री अर्याललाई त्यस्तो नबोल्न सचेत गराउँदै माफी माग्न समेत सुझाव दिएका छन् ।
नेपाल को नक्सामा कालापनी र लिपुलेक आज पनि छँदै छ, लिम्पियाधुरा छैन, लिम्पियाधुरा ईतिहास देखी नै छैन । लिपुलेक र कालापनी सहितको नक्सा अहिले पनि हामिले प्रचलनमा ल्याएको नक्सा हो ।
रेडियो अन्तर्वार्तामा सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्याल
सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले भने, ‘सरकारलाई विवादित बनाउने काम नगर्नुस्, तत्काल माफी मागिहाल्नुस् । शिक्षा मन्त्रालयले पनि आफ्ना सम्पूर्ण पाठ्यक्रममा नेपालको सम्पूर्ण भूभाग भएको नक्सा प्रकाशन गर्नु पर्यो ।’
उनले तत्काल सम्पूर्ण भूभाग समेटिएको नेपालको नक्सा प्रकाशन गर्न आग्रह पनि गरे । नेता नेपालले आवश्यक परे सिमानामा काडेतार लगाउन समेत जोड दिएका छन् ।
तत्काल नक्सा सार्वजनिक गरी सीमा नियमनका लागि सुरक्षाकर्मी राखिनु पर्ने उनले बताएका छन् । भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको ट्रयाक खोलेर उद्घाटन गरेपछि विरोध चर्केको हो ।