
भारतीय हस्तक्षेपको विरोध र नेविसंघका पक्राउ परेका नेता–कार्यकर्ता रिहाइको माग गर्दै राजधानीको बालाजु क्षेत्रमा मसाल जुलुससहित प्रदर्शन गरिएको छ ।
नेविसंघले प्रहरीले पक्राउ गरेका विद्यार्थीलाई रिहाई गर्न माग गर्दै सोमवार साँझ मसालसहित प्रदर्शन गरेको हो।
भारतले सीमा मिचेको बिरोधमा तथा आन्दोलनरत विद्यार्थीलाई पक्राउ गरेको बिरोधमा जुलुस निकालेको थियो। भारत सरकारको कदमको विरोध गर्दै नेविसंघले दिउँसो प्रदर्शन गरेको थियो। प्रदर्शनस्थलबाट पक्राउ परेका नेविसंघ नेताहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ।

नेपाल विद्यार्थी संघ र नेपाली काङ्ग्रेस तारकेश्वर नगरपालिका–४ को आयोजनामा लोलाङदेखि बाइपाससम्म मसाल जुलुससहित विरोध प्रदर्शन गरिएको हो ।
नेविसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा भएको विरोध प्रदर्शनमा नेपाली काङ्ग्रेस तारकेश्वर नगरपालिका वडा नम्बर ४ का सभापति मनोज राना, महासमिति सदस्य डिल्लिराम सापकोटा ,वरिष्ठ अधिवक्ता ठाकुरराम आचार्य, प्राध्यापक संघका केन्द्रीय सल्लाहकार धनेश्वर नेपाल ,विद्यार्थी नेताहरु सन्तोष गुरुङ, जीवन राना, सुशान्त आचार्य, सुदीप अधिकारी स्थानीय नेताहरु देविराज छत्कुल्ली ,खड्गबहादुर थापा,कृष्ण अधिकारी ,रामशरण अधिकारी ,टेकनाथ दाहाल लगायतको उपस्थिति रहेको थियोे ।
लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा नेविसंघका नेता कार्यकर्ता पक्राउ परेका थिए ।
पक्राउ पर्नेमा नेविसंघका अध्यक्ष राजिव ढुंगाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दिपक भट्टराई, बलदेव तिम्सिना र यूवराज पाण्डे लगायत एक सयभन्दा बढी विद्यार्थी नेता कार्यकर्ता रहेका छन् । उनीहरुलाई महेन्द्र पुलिस क्लब लगायतका स्थानमा राखिएको छ ।

नेविसंघले पोखरामा जलायो ओली र मोदीको पुत्ला
नेविसंघ पोखराले अतिक्रमणको चपेटामा परेको नेपाली भुमी फिर्ता पाउनु पर्ने माग राख्दै पोखरामा प्रधानमन्त्री केपी शर्मा ओली, उनका समकक्षी नरेन्द्रमोदी सहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पुत्ला जलाएको छ ।
भारतीय अतिक्रमणको चपेटामा परेको लिपुलेक, कालापानी र लिम्पियाधुरा तत्काल फिर्ता ल्याउनु पर्ने माग राख्दै नेविसंघले पुत्ला जलाएको हो ।
बेलुकी ७ बजे नेविसंघ नेता, कार्यकर्ता भेला भएर पुत्ला जलाएका हुन् । पोखरा २७ तालचोकमा नेविसंघले पुत्ला जलाएको नेविसंघका पूर्व कास्की जिल्ला सह—सचिव राजिव भण्डारीले जानकारी दिए ।
पुत्ला जलाउँदै नेवि संघले भारतीय अतिक्रमणमा परेको भुमी तत्काल फिर्ता ल्याउनु पर्ने माग राख्दै चर्को नाराबाजी पनि गरेका थिए ।
भारतले नक्कली नक्सा बनाएर नेपाली भूमी हुँदै तिब्बतको मानसरोबर जोड्ने बाटो बनाएपछि देशका विभिन्न स्थानमा प्रदर्शन हुँदै आएको छ ।