
बागमती प्रदेश न्यू डायमण्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा भएको फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली एपीएफलाई ३–० को सोझो सेटमा पराजित गरी उपाधि जितेको हो ।
पहिलो सेटमा २५–१६ को सेटमा जित निकालेको पुलिसले दोस्रो सेटमा २७–२५ को रोमाञ्चक जित निकाल्दै जिततर्फ अघि बढ्यो । एक समय ६ अंकले पछि रहेको पुलिसले उत्कृष्ट पूनरागमन गर्दै जित निकाल्न सफल भयो।
तेस्रो सेटमा २५–१९ को सेटमा जित निकाल्दै पुलिस च्याम्पियन बन्न सफल भयो । उपाधिसँगै पुलिसले ५ लाख रुपैया र शिल्ड हात पारेको छ । दोस्रो भएको एपिएफले २ लाख ५० हजार रुपैयाँ हात पारे ।
तेस्रो भएको होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले १ लाख २५ हजार तथा चौथो भएको परोपकार आदर्श माध्यमिक विद्यालयले ७५ हजार रुपैयाँ हात पारेको छ ।
न्यू डायमन्डले आजै परोपकारलाई २५–१२, २५–१४ र २५–२३ को सोझो सेटमा जित निकाल्दै तेस्रो स्थान हासिल गरेको छ ।