
राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले दुई पटक बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्न माग गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित उपत्यका स्तरीय संयोजित संगठनको भेलालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन्। पार्टीको स्वार्थका लागि ६-६ महिनामा पार्टी परिवर्तन गर्ने प्रवृत्ति गलत भएको उनको भनाइ छ।
‘‘पार्टीको स्वार्थ परिपूर्तिको निमित्त ६-६ महिनामा पार्टी परिवर्तन गर्ने प्रवृत्तिले अस्थिरताको सिर्जना भइरहेको छ। यो विकृतिको अन्त्यका निमित्त राप्रपा नेपालले संसदीय व्यवस्था उपयुक्त हुँदैन भनेर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था हुनुपर्छ भनेको छ’’, थापाले भने, ‘मन्त्री हुन सांसद नै हुनुपर्छ भन्ने हुँदैन। दुई पटक भन्दा बढी एउटै व्यक्ति प्रधानमन्त्री हुन नपाउने व्यवस्था गर्नुपर्छ।’’
अध्यक्ष थापाले मन्त्रीको प्रलोभन दिएर र पैसा खर्च गरेर मन्त्री, प्रधानमन्त्री हुने व्यवस्थाले नेपालको हित गर्न नसकेको बताए। उनले व्यापारी र विदेशीबाट उठाएको पैसाले चुनाव लड्ने प्रवृतिको अन्त्य हुनुपर्ने बताएका छन्। अध्यक्ष थापाले प्रदेश सरकारमा पनि व्यापक विकृति र विसंगती हुन थालेको बताए।