
कोरोना भाइरस संक्रमणबाट वैदेशिक रोजगारीका क्रममा युएई (दुवई) मा रहेका अर्घाखाँचीका एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका–७ खाँचीकोट लम्चाका ३९ वर्षिय खुमबहादुर थापा छन् । उनको दुवईको अवुधावीस्थित एक अस्पतालमा उपचारका क्रममा अस्पतालमा निधन भएको हो ।
नेपाली र बंगलादेशी कामदारबीच झडप, नेपाली कामदार घाइते
यसबैबीच दुबईमा नेपाली र बंगलादेशी कामदारबीच मंगलबार राति झडप भएको छ ।
दुबईको जबिलआलीमा रहेको फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा रहेका नेपाली र बंगलादेशी कामदारबीच झडप भएको हो ।
झडपमा केही नेपाली घाइते भएका छन । घाइतेमध्येका एक नेपालीको टाउको तथा शरीरमा चोट लागेको छ जनाइएको छ ।
नेपाल फर्कन विमानस्थल पुगेका र फर्कन नपाएर दुबईमै अड्किएका नेपाली कामदार आक्रोशमा आएर झडपमा उत्रिएका हुन् ।
नेपाल फर्किन नपाएको आक्रोशमा त्यस कम्पनीमा कामदारले पहिलेदेखिनै समस्या सिर्जना गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले काम नहुँदा समस्यामा पर्ने भन्दै केही कामदारको भिसा रद्द गरेर नेपाल पठाउन विमानस्थलसम्म पठाएको थियो ।
दुई दिन पहिले जाँड रक्सी खाएर नेपाली कामदरको समूहले बंगलादेशी कामदारलाई हातपात गर्दै गेटपालेलाई कुटेका थिए । मंगलबार राति केही नेपाली युवाहरु कोठामै बसेर लुडो खेलिरहँदा होहल्ला गरेको भन्दै बंगलादेशी कामदारले नेपाली कामदारलाई कुटपिट गरेपछि झडप भएको हो ।
कुटपिटमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पिटिएका नेपालीले उपचार गरिदिए बंगलादेशी कामदारलाई माफ दिन प्रहरीलाई अनुरोध गरेका छन् ।