
अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै विवादमा तानिएका जनार्दन शर्माले निष्पक्ष बजेट ल्याउन नसकेको आरोप भने थेग्नै सकेनन् ।
सबै दबाब बेवास्ता गर्दै आएका शर्मामाथि संसदले छानविन गर्ने भएपछि बल्ल राजीनामा दिन बाध्य भएका हुन् । यसअघि गभर्नरलाई निलम्बन गराउँदा पनि शर्मा नैतिक संङ्कटमा परेका थिए । अर्थ मन्त्रालय सम्हालेपछि शर्मा कुन कुन विवादमा तानिएका थिए त ?
जेठ १५ गते बजेट संसदमा पेस गर्नुअघि १४ गते राती बाह्य व्यक्ति अर्थ मन्त्रालय छिराएर करको दर हेरफेर गराएको र प्रमाण मेट्न अर्थ मन्त्रालयबाट सीसी टिभी फुटेज नै हटाएको आरोप लाग्दा पनि शर्माले सुनेको नसुन्यै गरे ।
राष्ट्रघात भन्दै एमालेले सदनमै छानविनको माग गर्यो । तर अर्थमन्त्रीका रुपमा शर्माले उल्टै सीसीटिभी दृश्य हेर्ने एमाले को हो भनेर चुनौति दिए । नागरिक अगुवाले राजीनामा मागे । तर शर्माले नसुने झै गरिरहे ।
अन्तत: उनलाई त्यही चुनौति भारी पर्यो। दबाब थेग्न नसकेर बाध्यताले राजीनामा दिँदा पनि उनले आफू नै ठिक भनिरहेका छन् ।
उनको विवादको श्रृङखला यति मात्रै होइनन्। स्वदेशी उद्योगको कच्चा पदार्थमा भन्सार बढाएर विदेशी उत्पादनको आयातमा छूट दिएको, विद्युतिय सवारीमा भन्सार शुल्क बृद्धि,स्रोत नखुलेको वैदेशिक सम्पति फुकुवा गर्न राष्ट्र बैंकमाथि दबाब दिएको, अर्थतन्त्रलाई सहि दिशा दिन नसकेको जस्ता आरोप शर्मा माथि छन् ।
आधार विनै राष्ट्र बैंकका गर्भनरलाई निलम्बन गराउनु पनि शर्माका लागि घाटा नै भयो। अदालतले गर्भनरको पक्षमा फैसला गरिदियो । तर शर्माले नैतिकता देखाएनन् । यी सबै विषय अव संसदीय छानविनकै घेरामा पुगेका छन् ।
अर्थमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान लिएको प्रमुख प्रतिपक्ष एमालेले पनि शर्माको बहिर्गमनलाई लोकतान्त्रिक प्रकृया भनेको छ ।
हुन त अर्थमन्त्रीका रुपमा शर्मालाई जोगाउन प्रधानमन्त्रीदेखि माओवादी केन्द्रका अध्यक्षसम्म लागिपरेका थिए । अहिले अर्थ सचिव समेत लामो बिदामा छन् । यो अवस्थामा शर्मामाथि अब छानविन कसरी र दोषी ठहरिए कारवाही कस्तो होला ?