
कडा सुरक्षाकाबीच बाजुराको बुढीगंगा नगरपालिकाको मतदान सम्पन्न भएको छ ।
बिहान ७:०० बजेबाट सुरु भएको मतदान साँझ ५:०० बजे सम्पन्न भएको हो ।
बुढिगंगामा रहेका १० वटै वडाका १० मतदान स्थल तथा १९ मतदान केन्द्रमा पुनः मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताउनुभयो ।
बुढीगंगामा कुल मतदाता सङ्ख्या १३ हजार ६ सय ५९ रहेकोमा ९ हजार १ सय १७ अर्थात् ६७ दशमलव ७५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।
मतगणना आजै रातिबाट सुरु हुने निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिनुभयो ।
मतदान प्रक्रिया छिटपुट घटना बाहेक सबै मतदान स्थलमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्रिशक्ति मावि मतदान स्थलमा सामान्य झडप भएको थियो झडपमा एकीकृत समाजवादीबाट वडा अध्यक्षका उम्मेदवार भरत थापा र स्थानीय मतदाता सीता थापाको टाउकोमा चोट लागेको र झडपलाई साम्य पार्न प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको थियो ।
निर्वाचनमा सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानसहितका करिब १ हजार २ सय सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो ।
यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि बुढिगंगामा निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो।
बुढीगंगाको प्रमुखमा नेकपा एमालेका तर्फबाट रामबहादुर बानिया र नेपाली काँग्रेसका तर्फबाट रंगबहादुर खाती प्रमुख पदका उम्मेदवार हुनुहुन्छ ।