
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान पाँच दलीय गठबन्धन सरकार अविलम्व हट्नुपर्ने बताउनुभएको छ । शुक्रवार छवि कार्कीको १२औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
उहाँले देशको चाबी लिएरै ढुकुटी लुट्ने काम गठबन्धनको सरकारले गरेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले अन्य सरकार भएको भए अहिलेसम्म मैनबत्ती झैँ पग्लिएर सरकारबाट हटिसकेको हुने भएपनि अहिलेको सरकार तमासा देखाएर बसेको बताउनुभयो ।
उहाँले गठबन्धनको सरकारलाई अब स्वीकार्न नसकिने उल्लेख गर्दै गठबन्धन सरकार नराम्रा कामहरुको थुप्रो भएको बताउनुभयो । अध्यक्ष ओलीले गठबन्धन सरकार नालायक र भ्रष्ट रहेको भन्दै सरकार आफै नहटे जनताले टिपेर मिल्काउनु पर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले नेपाली काँग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवामा गलत गर्नेलाई कारबाही गर्ने हुत्ती नरहेको बताउनुभयो । उहाँले अर्थमन्त्री जनार्दन शर्माले आफै राजीनामा दिएको तर राजीनामा नदिएको भएपनि कारबाही गर्ने आँट प्रधानमन्त्रीमा नरहेको बताउनुभयो । उहाँले माओवादीले अनुपयक्त समयमा हतियार उठाएकै कारण हजारौं युवाशक्ति विदेश जानुपर्ने बाध्यता सिर्जना भएको बताउनुभयो ।
अध्यक्ष ओलीले जनयुद्धका नाममा माओवादीले गरेको हिंसा जनयुद्ध नभएको दाबी गर्नुभयो । उहाँले निहीत स्वार्थका लागि र केही व्यक्तिको स्वार्थका लागि, कसैको इसारामा, कतैको योजनामा, नेपाली जनताको जीवनमाथि खेलवाड गर्न नेपालमा सशस्त्र द्वन्द्वको नाममा माओवादीले जनहीत विपरितका काम गरेको बताउनुभयो ।
अध्यक्ष ओलीले माओवादीले शान्ति प्रक्रियामा आइ हतियारको प्रयोग छोडेँ भनिसकेपछि पनि नेकपा एमालेका तत्कालीन कार्यकर्ता छवि कार्कीको अमानवीय ढंगले हत्या गरेको उल्लेख गर्नुभयो ।
अध्यक्ष ओलीले २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले गरेको घोषणा सर्वदलीय स्वीकृतीमा पार्टीले तयार पारेको ड्राफ्ट भएको र पार्टी कार्यालय बल्खुमा बसेर आफैँले उक्त ड्राफ्ट तयार गरेको दाबी गर्नुभयो ।