७ बैशाख २०८२, आईतवार

वर्तमान गठबन्धनकाे सरकार बाेकेर हिड्न नसकिने एमाले अध्यक्ष ओलीकाे चेतावनी

kp oli 3
फाइल फोटो

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बोकिरहन नसकिने चेतावनी दिनु भएको छ ।

वर्तमान सरकार देशका लागि निष्प्राण र हानिकारक दुवै भएकाले यसलाई बोकेर हिँड्न नसकिने अध्यक्ष ओलीको तर्क थियो ।

सोमबार च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा विभिन्न सञ्चार माध्यामका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भईसकेको भन्दै यसलाई बोकिरहन उपयुक्त नहुने बताउनुभयो ।

सरकार र सत्तारुढ गठबन्धन देशका लागि मृत भइसकेकाले यसलाई कायम राखेर गए देशमा हैजा फैल्याउने ओलीको भनाइ थियो ।

उहाँले सरकारका सबै अंगप्रत्यङ्ग झर्न लागेको र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा त्यसैको दृष्टान्त भएको जिकीर समेत गर्नुभयो ।

सबै अंगप्रत्यङ्ग काम नलागेकी सतीदेवीलाई भगवान शिवले समेत बचाउन नसकेको स्मरण गराउँदै ओलीले वर्तमान सत्तारुढ गठबन्धन र सरकारको हालत पनि त्यही भएको बताउनुभयो ।

उहाँले मुलुक संघीय संसद र प्रदेशसभाको निर्वाचनमा प्रवेश गरिसकेकाले पनि परमादेशी वर्तमान सरकारको कुनै औचित्य नभएको पनि दोहोर्याउनु भयो ।

अध्यक्ष ओलीले आफ्नो पार्टीले चाहेको भए सत्तारुढ गठबन्धन उहिलेनै टुटिसकेको हुने दाबी समेत गर्नुभयो । उहाँले गठबन्धनलाई नक्कली बिहेको संज्ञा दिँदै त्यसो गरेर साँचो डिभोर्स गर्ने पक्षमा आफ्नो पार्टी नरहेको पटकपटक दोहोर्याउनु भयो ।

अध्यक्ष ओलीले सरकार मुलुकलाई श्रीलंकामा जस्तै संकटतर्फ लैजान केन्द्रित भएको आरोप समेत लगाउनुभयो । उहाँले आगामी संघीय संसद र प्रदेशसभाको चुनावमा आफ्नो पार्टीले देशको वास्तविक समस्या र तिनलाई समाधान हुने खालको एजेण्डा लिएर जनतामा जाने पनि स्पष्ट पार्नुभयो ।