८ बैशाख २०८२, सोमबार

विद्यार्थीको सिकाइ मापन गर्ने परीक्षामा त्रिभुवन विश्वविद्यालयको लापरवाही

tu

त्रिभुवन विश्वविद्यालयले लिने परीक्षामा एकपछि अर्को लापरवाहीका घट्ना दोहोरिएका छन् । विद्यार्थीको भविष्यमाथि नै असर पर्ने गरि पटक पटक प्रश्नपत्रमा मजाक भइरहँदा पनि विश्वविद्यालय प्रशासन ‘कारवाही गर्ने’ ओठे प्रतिक्रियामा सीमित छ ।

त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायतर्फको बीबीए छैठौं समेष्टरको शनिवार लिएको नेप्लिज सोसाइटी एण्ड पोलिटिक्स बिषयको परिक्षामा पाँचौं सेमेस्टरको सोसोलोजिको प्रश्नपत्र बाँडियो ।

यस्तै बीबीए छैठौं सेमेष्टरको अर्गनाइजेसन बिहाभियर’ को प्रश्नपत्र एउटा नीजि कलेजले लिएको आन्तरिक परीक्षाको प्रश्नपत्रसँग हुबहु मिलेको तथ्य पनि बाहिरिएको छ ।

प्रश्नपत्र निर्माणमा संग्लन विज्ञ प्राध्यापक, कर्माचारीहरुको गम्भीर लापरवाहीका कारण हजारौं विद्यार्थीको परीक्षानै रद्द गरिएको छ ।

त्यसो त जेठ दोस्रो साता मानविकी संकायको स्नातकोत्तर तहको अर्थशास्त्र र राजनीतिक शास्त्र विषयको परीक्षाको प्रश्नपत्र अघिल्लो वर्षकै हुबहु मिलेको घट्ना सेलाउन नपाउँदै फेरि अर्को घटना हुनुले विश्वविद्यालयको लापरवाहीलाई प्रष्ट पारेको छ ।

एक महिनामा चारवटा विषयको परीक्षामा वितरण गरिएको प्रश्नपत्रमा त्रुटि हुनु विश्वविद्यालयको हेरचेक्र्याइ भएको परीक्षाका अधिकारीहरु स्विकारेका छन् ।

विश्वविद्यालय स्थापनाको ६३ वर्षको इतिहासमा परीक्षामा एकपछि अर्को घट्ना भएको यो पहिलो हो । विषयविज्ञ प्राध्यापकबाट हरेक विषयको प्रश्नपत्र निर्माण गर्ने, पुनमूल्यांकन र सहयाक डीनको प्रत्यक्ष संग्लनमा बनाइने चलन छ ।

यति हुँदाहुँदै पनि विद्यार्थीको सिकाइको मापन गर्ने परीक्षाजस्तो संवेदनशील विषयमा लगातार लापरबाहीका घट्ना हुनुलाई उच्च गंभीरताका साथ लिइएको छ ।

विद्यार्थीको भविष्यमाथिनै आघात पुग्ने गरि भएका यस्ता घटनामा संलग्नहरुलाई कारबाहीको दायरा ल्याउनु पर्ने विद्यार्थी र शिक्षाविद्को बुझाइ छ ।

विद्यार्थीको सिकाइ मापन गर्ने विश्वविद्यालयको परिक्षाका लागि प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन मर्यादित र विश्वसनीय हुनुपर्छ । यसका लागि उच्च सतर्कता र संवेदनशीलता आवश्यक छ ।