
नागरिकको सुरक्षा र अपराध अनुसन्धान गर्ने नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हो । तर त्यही प्रहरीलाई पटक–पटक हतियार खरिद गर्ने विषयले विवादमा तान्ने गरेको छ ।
२०७० सालमै प्रहरीलाई हतियार खरिद गर्न करिब डेढ अर्ब रुपैयाँ दिने तयारी थियो । तर त्यति बेला दोब्बर मूल्य राखेर खरिदका लागि प्रस्ताव गरिएको बार बोर राइफल, अश्रुग्याँस तथा अन्य वुलेट पुरानो शैलीका भएको र मानवीय स्वास्थ्यमा घातक हुने भन्दै तत्कालिन एआइजी राजेन्द्रसिंह भण्डारीले असहमति जनाएपछि रोकिएको थियो ।
अहिले फेरि त्यही समुहले बजारबाटै विस्थापित भइसकेका र पुरानै शैलीका हतियार इटालीबाटै ल्याउने प्रक्रिया अघि बढाएपछि आर्थिक चलखेलको आशंका गरिएको छ ।
प्रहरीसँग अहिले हतियारको अभाव छ । उसले स्थानीय तहको चुनावका बेला ९ सय ९९ थान पेस्तोल सेनासँग मागेर चलाएको थियो ।
अहिले शान्ति सुरक्षामा खटिँदा प्रहरीले थ्री नट थ्री राइफलको प्रयोग गर्छ । यसले निर्वाचन गराउनसमेत अप्ठेरो हुने तर्क प्रहरी प्रधान कार्यालयको छ ।
गत वर्ष नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई आफूसँग रहेका १०/१० हजार थान इन्सास राइफल दिएको थियो । सेनाले पुराना हतियार दिएर आफूले नयाँ सिरिजका हतियार खरिद गर्दै छ ।
यस पटक प्रहरीलाई नयाँ हतियार खरिद गर्ने भनिए पनि बिचौलियाको साँठगाँठमा तीन गुणा बढी मूल्य प्रस्ताव गरेर विवादित बनाइएको छ । भिड नियन्त्रण गर्न प्रहरीलाई स्रोत साधन आवश्यक छ ।
तर मुलुकमा आर्थिक संकट गहिरिँदै गएका बेला विश्वका अन्य मुलुकले प्रयोगमा ल्याउन छाडेका र त्यो पनि तीन गुणा बढी मूल्य तिरेर खरिद गर्न किन आवश्यक पर्यो भन्ने स्पष्ट जवाफ भने सरकारले दिन सक्नुपर्छ ।